२५ घण्टा २६ मिनेट लगातार अन्तरवार्ता लिएर विश्व कीर्तिमान राखेका पत्रकार निरौला सम्मानित

भोजपुर । २५ घण्टा २६ मिनेट लगातार अन्तरवार्ता लिएर विश्व कीर्तिमान राखेका पत्रकार भानुभक्त निरौला सम्मानित भएका छन् । निरौला बिहीबार विराटनगरमा आयोजित नेपाल पत्रकार महासङ्घ, प्रदेश नं १ ले आयोजना गरेको प्रदेश सम्मेलनको अवसरमा सम्मानित भएका हुन् ।

निरौलालाई मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो, सञ्चार तथा यातायात व्यवस्था मन्त्री उपेन्द्र घिमिरे, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेले संयुक्त रुपमा दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेका हुन् ।

मुख्यमन्त्री राईले युवा तथा जुझारु पत्रकार निरौलाले प्रसारण पत्रकारितामा दिएको योगदानको प्रशंसा गर्दै विश्व रेकर्डका लागि बधाई दिए । आर्थिक मामिला तथा योजना मन्त्री आङबो, सञ्चार तथा यातायात व्यवस्था मन्त्री घिमिरेले पनि पत्रकार निरौलाको प्रशंसा गरेका थिए

पत्रकार निरौलाले सन् २०२१ नोभेम्बर ८ र ९ मा काठमाडौँ स्थित हिमाल एफ.एम.को शाखा कार्यालयमा आयोजित विश्वकै लामो रेडियो अन्तरवार्तामा लगातार २५ घण्टा २६ मिनेट अन्तरवार्ता लिएका थिए । सो दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले १० जनवरी २०२२ मा प्रमाणित गर्दै विश्व कीर्तिमानी घोषणा गरेको थियो ।

उनले पर्यटनविद् आङफिन्जो शेर्पासँग पर्यटक र जलवायु परिवर्तनको विषयमा विश्वकै लामो अन्तरवार्ता लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार