पाँच वर्षमा ओलीको उन्मादी महत्वाकांक्षा सबैभन्दा घातक : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले विगत पाँच वर्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उन्मादी महत्वाकांक्षा सबैभन्दा घातक बनेको व्याख्या गरेको छ । स्थानीय तह निर्वाचनका लागि आइतबार जारी गरेको घोषणापत्रमा कांग्रेसले २०७४ को निर्वाचनपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले इतिहासमै सर्वाधिक अनुकुल र राजनीतिक स्वर्णिमकाल पाए पनि त्यसको सदुपयोग गर्न नसकेको र यो पाँच वर्ष खेर गएको व्याख्या गरेको हो ।

घोषणापत्र सार्वजनिक गर्दै महामन्त्री गगन थापाले गएको पाँच वर्ष नेपालका कम्युनिस्ट दलहरूले खेर फालेको बताए । ‘निर्वाचनमा कुनै पनि दललाई छनोट गर्ने मुख्य आधार उसले अघिल्लो निर्वाचनमा पाएको जिम्मेवारी र आफ्नो संवैधानिक दायित्वलाई कसरी पूरा गर्‍यो भन्ने हुन्छ,’ थापाले भने, ‘२०७४ मा भएको स्थानीय सरकारको निर्वाचनदेखि २०७९ को यो निर्वाचनसम्म आइपुग्दाको पाँच वर्षको अवधिमा नेपालको राजनीतिक कुन ठाउँमा थियो र कसरी यहाँसम्म आइपुगेको छ रु कुन पार्टीले कस्तो भूमिका निर्वाह गर्‍यो भन्ने विश्लेषण हुन आवश्यक छ । हिजो रातारात कम्युनिस्ट पार्टीहरू मिले, तलदेखि माथिसम्म नेकपाको सरकार बन्यो, वास्तवमा यो अवधि नेपालको इतिहासमै स्वर्णिम अवसर थियो, तर आज नेकपा नै बाँकी छैन । यो पाँच वर्ष खेर गएको छ ।’

कांग्रेसले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टी र सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहस नहस पार्ने काम गरेको आरोप लगाएको छ । ‘नेपाल कम्युनिस्ट पार्टीले सत्ता र शक्तिको केन्द्रीकरण गर्ने केपी शर्मा ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षाका खातिर आफ्नो दलको सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउनेतिर लगायो,’ कांग्रेसले भनेको छ, ‘त्यति ठूलो जनादेश पाएको नेकपाको सरकार देश बनाउने होइन, आफूलाई प्राप्त जनादेशको खतरनाक दुरुपयोग गर्नतिर लाग्नु संविधान निर्माणपछिको समगमा नेपाली राजनीतिको सबैभन्दा ठूलो दुखान्त हो ।’

कांग्रेसले ओली सरकारले गरेका खराब कामको फेहरिस्त नै प्रस्तुत गरेको छ । महामन्त्री थापाले नेपाली राजनीतिमा यो पाँच वर्षको उपयुक्त मूल्यांकन हुनैपर्ने बताए । ‘सात दशकको अकल्पनीय संघर्षपछि लेखिएको जनताको संविधान, लोकतन्त्र, अर्थतन्त्र, कुटनीति, सामाजिक सद्भाव र सहिष्णुलगायत यो सम्पूर्ण व्यवस्थामाथि नै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीको सरकारले गरेको सुनियोजित आक्रमण गर्‍यो, यसको हामीले चर्चा होइन, जनताको माझमा फेहरिस्त प्रस्तुत गरेर यसको उपयुक्त मुल्यांकन हुनुपर्छ,’ महामन्त्री थापाले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार