एन्फा सदस्यमा नेम्बाङ समूहबाट भोजपुरका प्रविण सुवालको उम्मेदवारी

भोजपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को महिना हुने निर्वाचनका लागि अध्यक्षका प्रत्यासी पंकज विक्रम नेम्बाङको प्यानलबाट जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले सदस्यमा उमेद्वारी दिएका छन् । नेम्बाङकोतर्फबाट भोजपुरका सुवालले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेम्बाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षका रुपमा अहिले उपाध्यक्ष वीरबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । नेम्बाङको समूहबाट ४ उपाध्यक्षका लागि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका एन्फाका पूर्व कोषाध्यक्ष विराटजंग शाही, एन्फा सदस्य दावा लामा, एनआरटीका सुन्दरनरसिंह जोशी र धादिङ एन्फाका अध्यक्ष दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेम्बाङ समूहमा रहेका भनिएका बाँके एन्फाका अध्यक्ष भोजराज शाही, सुर्खेत एन्फाका अध्यक्ष रविन्द्र चन्द र कैलाली एन्फाका अनिल मल्लले सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका छन् । यस्तै ललिपुर एन्फा अध्यक्ष पुरुषोत्तम थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष एवंम् एन्फा सदस्य विजय घले, रौतहटका नेपाल कार्की, धनुपाका तपेश्वर राउत र काभ्रेका विकास नारायण श्रेष्ठ,इलामबाट निरज खड्गीले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
विपक्षमा अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहबाट एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, सदस्यद्वय दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र पूर्व अन्तर्राष्ट्रिय खेलाडी विज्ञानराज शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । सोही समूहबाट मणिकुमार लिम्बु, मणिराज विष्ट, तपेश्वरकुमार राउत, मानदेव हजारा, दिपेन्द्र धिमाल बुढथापा, अनिल श्रेष्ठ, रामराजा गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर र रुपेश अधिकारीले सदस्यमा मनोनयन दर्ता गराएका छन् । त्यस्तै महिला सदस्यका लागि विमला पौडेल, सरिला श्रेष्ठ, विन्द्रा देवान मनोनयन दर्ता गराएका छन् ।
एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि असार ६ गते निर्वाचन हुनेछ । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार