झालाई स्वतन्त्रता सेनानी सम्मान

पाँचथर । यस वर्षको स्वतन्त्रता सेनानी सम्मानबाट नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झा सम्मानित भएका छन् । वाक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा योगदान पुर्‍याएका एकरएक जना पत्रकारलाई वार्षिकरुपमा सम्मानसहित पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिँदै नेपाल पत्रकार महासंघ पाँचथर शाखाले यस वर्षको स्वतन्त्रता सेनानी सम्मान झालाई अर्पण गरेको हो ।
शनिबार फिदिममाआयोजित कार्यकममा झालाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नगद ३३ हजार ३ सय ३३ रुपैयाँसहित कदरपत्रले सम्मान गरेका थिए ।

यसैवीच स्वर्गीय प्रजापति जलपादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका पाँचथर संवाददाता विजयबोध लावती र हरिचरण जल्पादेवी वातावरण पत्रकारिता पुरस्कारबाट रेडियो मितेरीका स्टेशन म्यानेजर खविन लुँइटेल पुरस्कृत भएका छन् । खेलकुद पत्रकारिता पुरस्कार नगद १० हजार तथा वातावरण पत्रकारिता पुरस्कारको राशि नगद ५ हजारसहित प्रमाणपत्र रहेको छ ।

यसैबीच उत्कृष्ट फिचर विधातर्फ कान्तिपुर संवाददाता लक्ष्मी गौतम र उत्कृष्ट फोटो विधातर्फ राससका जिल्ला संवाददाता रवीन्द्र काफ्ले पुरस्कृत भएका छन् । पत्रकार महासंघ पाँचथर शाखाले फिचर र फोटो विधामा उत्कृष्ट पत्रकारलाई यसै वर्षबाट पुरस्कृत गर्न थालेको हो ।

फिचर विधातर्फ खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल र फोटो विधातर्फ फोटो पत्रकार चन्द्रशेखर कार्कीको मूल्यांकनका आधारमा गौतम र काफ्लेलाई पुरस्कृत गरिएको शाखा सचिव रामचन्द्र तामाङले जानकारी दिए । उनीहरुलाई नगद ५ हजार पुरस्कारसहित कदर पत्रमार्फत सम्मान गरिएको हो ।

पुरस्कारको रकम राहत कोषमा

कान्तिपुरकर्मी गौतमसहित दुई जना पत्रकारले आफूले पुरस्कारबापत पाएको रकम पत्रकार महासंघ पाँचथर शाखाले स्थापना गरेको आपतकालीत पत्रकारिता कोषका लागि हस्तान्तरण गरेका छन् ।

अप्ठेरोमा परेका पत्रकारलाई सहयोग गर्ने उद्देश्यले कोरोना संकमणकालमा शाखाले स्थापना गरेको कोषलाई सुदृढ बनाउन भन्दै गौतमसहित रेडियो मितेरीका स्टेशन म्यानेजर खबिन लुइँटेलले पुरस्कार स्वरुप पाएको रकम शाखालाई हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार