प्रदेश १ को नाम ‘कोसी’ राख्न दलहरू सहमति नजिक

विराटनगर । प्रदेश १ को नाम कोसी राख्न दलहरुबीचको सहमतिको प्रयास जारी छ । आजको प्रदेशसभामा बैठकमा नामकरणको प्रस्ताव पेश गर्ने तयारी हुँदा प्रदेशको नाम ‘कोसी’ मा सहमति जुटाउने प्रयास जारी रहेको एमाले श्रोतले जनाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा प्रस्ताव पेश गर्ने तयारी छ ।

‘संसदीय दलका नेताहरू कोसी नाममा सहमति भएका छन्’, स्रोतले भन्यो ‘सांसदहरूलाई पनि सहमति गराउने प्रयास जारी रहेको छ ।’

प्रदेशको नाम कोसी राख्न नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा र जसपाबीच केन्द्रका शीर्ष नेताहरूको सहमति भइसकेको छ ।

आजको प्रदेशसभाको बैठकमा एउटा मात्रै नामको प्रस्ताव पेश हुन्छ की एक भन्दा बढी भन्ने विषयमा दलहरूले केहि पनि बताएका छैनन् । परिस्थिति बिग्रन सक्ने भन्दै दलहरूले यो विषयलाई गोप्य राखेका छन् ।

नामकरणको विषयमा हल्ला खल्ला हुँदा हुँदा अनावश्यक प्रभाव र दबाब आउन सक्ने सम्भावना भएकाले गोप्यमा छलफल भएको श्रोतले जनाएको छ । नयाँ संसद्को पहिलो अधिवेशन शुरु हुँदैदेखि नामका विषयमा छलफल भएको थियो । तर नामका विषयमा भएका छलफललाई गोप्य राखिँदै आएको थियो ।

नेपालको संविधानमा प्रदेशको नामकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जनाको संसद् छ । जसमध्ये नामकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ ।

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्वसहमतिमा नामकरणको टुंगो लगाउने तयारी गरिएको नेताहरू बताउँछन् ।

अघिल्लो प्रदेशसभामा प्रदेशको नाम कोसी, सगरमाथा, विराट, कञ्चनजङ्घामध्ये एउटा राख्ने तयारी भएको थियो । तर प्रदेशको नाममा जातीय पहिचान जोड्ने की जातीय पहिचान नजोड्ने भन्ने विषयमा विवाद हुँदा प्रदेशको नाम राखिएको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार