जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–२ पेरे गाउँका दीपबहादुर ऐडीले पालेका १५ वटा भेडा चट्याङ लागेर मरे । परिवारको खर्चको जोहो गर्न पालिएका भेडा गत बिहीबार चट्याङ लागेर मरेपछि दीपबहादुर अहिले चिन्तामा छन् ।
भेडापालनबाटै उनको परिवारको वर्षभरिको खर्चको जोहो हुन्थ्यो । ‘पुर्खादेखि परम्परागत रूपमा भेडा पाल्दै आएका थियौं, चट्याङले गोठै रित्तियो,’ उनले भने, ‘ठूला चाडपर्व पनि भेडा बेचेको कमाइले मनाउँथ्यौं, अब त दसैं कसरी मनाउने भन्ने चिन्ता भयो ।’
असार २८ गते पातारासी–२ को दुगाड पाटनमा चट्याङ पर्दा दीपबहादुरसहित ५ जना किसानका ५० वटा भेडाबाख्रा मरेका हुन् । ‘भेडा मरेपछि हाम्रो त गाँसै खोसियो,’ उनले भने, ‘भेडापालनबाहेक आयस्रोतको अरू केही आधार छैन, यो वर्ष कसरी परिवार पाल्ने रु’ पातारासी भेडापालनका लागि पकेट क्षेत्र मानिन्छ । तर, बर्सेनि भेडाहरू चट्याङ लागेर मरेपछि किसान भेडापालन व्यवसायबाटै पलायन हुन थालेको उनले बताए । चट्याङले तितरबितर भएका ७० भेडाबाख्रा अझै नभेटिएको उनले जानकारी दिए ।
भेडा पालेरै घर चलाएका किसानको व्यवसाय नै संकटमा परेको अर्का किसान निमबहादुर बोहराले बताए । स्थानीय सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गरे आफूहरू फेरि भेडापालन व्यवसायमा फर्कन सक्ने उनले बताए । चट्याङ लागेर उनका पनि १४ वटा भेडा मरेका छन् ।
पछिल्ला तीन आर्थिक वर्षमा पातारासीका पाटनमा चट्याङकै कारण झन्डै ७ सय भेडा मरेको गाउँपालिकाको पशु शाखाको तथ्यांक छ । पातारासी गाउँपालिका पशु शाखा प्रमुख गगन केसीले पाटनमा चर्दै गरेका र किसानले भेडीगोठमा राखेका भेडाबाख्रा चट्याङ लागेर मर्ने गरेको बताए । ‘पानी पर्न थालेपछि कि भेडाहरू अस्थायी गोठमा जान्छन् कि त ओत लागेर एकै गाउँमा बस्छन्,’ उनले भने, ‘त्यही बेला चट्याङ परेपछि ठूलो क्षति हुने गरेको हो ।’ चट्याङमा परेर हराएका भेडाबाख्रा पनि मरेको हुन सक्ने उनको अनुमान छ । सरदर प्रतिभेडा १५ हजारको दरले हिसाब गर्दा पनि यसपालि झन्डै १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको उनले बताए ।
२०७७ भदौमा पातारासी–४ ढाणखर्क पाटनमा चट्याङ लाग्दा २ सय १७ भेडा मरेका थिए । पाटनमा बनाएका खर्कमै भेडा राखेको अवस्थामा चट्याङ पर्दा ती भेडा मरेका थिए । त्यसबेला किसानको झन्डै २६ लाख रुपैयाँको क्षति भएको पशु शाखाको तथ्यांक छ । तर किसानले अहिलेसम्म कुनै निकायबाट राहत पाएका छैनन् । बिमा नगरेकै कारण किसानले बर्सेनि लाखौंको घाटा व्यहोर्नुपरेको गाउँपालिका पशु शाखा प्रमुख केसीले बताए ।
२०७९ असार १९ गते पातारासीकै बागजाले पाटनमा चट्याङ पर्दा ३ सय ८० भेडाबाख्रा मरे । जसमध्ये ८० वटा भेडा चट्याङ परेको स्थानमा मरेका थिए भने बाँकी ३ सय भेडाबाख्रा हराएकामा पछि मरेको अवस्थामा भेटिएका थिए । उतिबेला पातारासी–४ लुम गाउँका जोरा रोकायाका ६०, रामबहादुर रेउलेको १ सय ७०, शंकर नेपालीको २० र मानबहादुर रोकायाको ७० भेडा मरेका थिए । अहिले उनीहरू सबैले भेडापालन व्यवसाय नै छोडिसकेका छन् ।
‘हाम्रो त्यत्रो क्षति भयो, न राहत पाइयो न फेरि भेडापालन गर्ने कुनै सहयोग,’ नेपालीले भने, ‘जीविकोपार्जनको कुनै आधार नभएपछि वर्षमा ६ महिना भारतमा मजदुरी गर्न गएर वर्षभरिको परिवारको खर्च धान्नुपरेको छ ।’ उनका अनुसार त्यतिबेला पशु अस्पताल तथा पशु सेवा कार्यालयले झन्डै ४ करोडको क्षति भएको तथ्यांक निकालेका थिए ।
पशु बिमाको चेतना किसानमा नहुनु, अनिवार्य बिमा गर्नुपर्ने नीति पालिकाले नल्याउनु र क्षतिपछि राहत तथा क्षतिपूर्तिका काम नहुनुले पनि पछिल्लो समय भेडापालन व्यवसाय संकटमा पर्न थालेको स्थानीय किसान कलबहादुर रोकायाले बताए । ‘बजारमा भेडाको माग बढ्दो छ,’ उनले भने, ‘तर विभिन्न रोगको प्रकोप, चरन क्षेत्रको अभाव र विभिन्न प्रकोपका कारण भेडापालन घट्दै गएको छ ।’ उनले गाउँतिर घाँसको अभाव हुने भएपछि अधिकांश भेडापालक किसानले वर्षायाममा भेडा चराउन पाटनतिर लैजाने गरेको बताए । उनका अनुसार भेडापालन पातारासी गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत हो ।
पशु सेवा कार्यालयका अनुसार जिल्लाभरि झन्डै ९८ हजार भेडा पालिएको छ । जुम्लामा सबैभन्दा बढी भेडा पातारासीमा पालिने गरिएको कार्यालय प्रमुख ज्ञानेन्द्र बुढथापाले बताए । पातारासीमा मात्रै करिब ३० हजार भेडा पालिएको र करिब ९ सय परिवारको प्रमुख पेसा भेडापालन रहेको उनले जानकारी दिए । यहाँका किसानका गोठैपिच्छे २५र३० भेडा छन् । पाटन र खर्कहरूमा व्यवस्थित भेडीगोठ नहुँदा पनि भेडा प्राकृतिक प्रकोपको जोखिममा पर्ने गरेको उनको भनाइ छ ।
‘एउटा भेडाको मूल्य स्थानीयस्तरमै १५ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्छ, जसबाट जिल्लाका किसानले झन्डै १ अर्ब बढी रकम भित्र्याउँदै आएका छन्,’ उनले भने, ‘हिउँदमा भेडाबाख्रा घरमा ल्याउने र वर्षायाममा पाटनमा लैजाने चलन छ, तर पाटनमा अत्यधिक चट्याङ पर्दा किसानलाई भेडा जोगाउनै मुस्किल भयो, सरकारले यसबारे कुनै नीति नल्याउँदा हामीले राहत र क्षतिपूर्ति पनि दिन सकेका छैनौं ।’