जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुग्यो

रुकुम पश्चिम । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर हिजो मध्य राति भएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै करिब १ सय ४० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गाउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको रोकाले बताए ।

साथै भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ । घाइतेहरूमध्ये ५ जनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले रुकुम पश्चिममा अहिलेसम्म ३६ जानको मृत्यु भएको पुष्टि गरे । जाजरकोटसँग जोडिएका आठविसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईको भनाई छ ।

रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।

तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् । भूकम्पका कारण मध्य पहाडी लोक मार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठविसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ ।

यस कारण पनि उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार