प्रधानमन्त्री दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्न लागेका हुन् ।

साँझ ५ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री दाहालले एक वर्षमा आफूले गरेका कामकारबाही र आगामी योजनाका विषयमा सम्बोधन गर्नेछन् । दाहालले प्रधानमन्त्री भएदेखि नै देशमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका थिए । तर सुशासन र अर्थतन्त्र सुधारका कार्यमा भन्दा पनि सत्ता टिकाउनमै उनी बढी केन्द्रित हुँदा नागरिकमा निराशा बढ्दै गएको छ ।

दाहालले प्रधानमन्त्री हुँदा गरेका प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा उनको तेस्रो पटकको सत्ता यात्रा पनि आलोचनारहित बन्न नसकेको टिप्पणी हुने गरेको छ ।

दाहाल गत वर्षको पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । पुस ११ गते शपथ ग्रहण गरेका थिए । त्यसअघि उनी २०६५ भदौ २ देखि २०६६ जेठ ११ सम्म पहिलो पटक प्रधानमन्त्री भएका थिए । यस्तै, २०७३ साउन २० देखि २०७४ जेठ २४ गतेसम्म दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार