भोजपुरमा बन्दै गरेको पक्की पुल भत्कियो

भोजपुर । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई सडकबाट जोड्न इरखुवामा बनाइँदै गरेको निर्माणाधीन पक्की पुल बिहीबार बिहान भत्किएको छ ।

पुल के कारणले भत्किएको हो त्यो भने खुल्न बाँकी छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष ०७८/७९ मा उक्त पुल ठेक्का लगाएर बनाउन थालेको हो । पुलको लागत ६ करोड ३० लाख रुपैयाँ रहेको बताइएको छ । उक्त पुल दिव्यज्योति धनञ्जय जेभीले बनाइरहेको हो ।

यसअघि २०७८ सालमा भोजपुरकै दक्षिणी कावा खोलामा ५ करोड बढीको लागतको पक्की पुल बनाउँदा बनाउँदै भत्किएको थियो ।

हतुवागढी गाउँपालिका-२ रानिवास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङको सिमानामा रहेको सो पुल स्वीस सरकारको आर्थिक सहयोगमा बनिरहेको थियो ।

प्राविधिकले ८० वर्ष आयु र भूकम्पप्रतिरोधी हुने दाबी गरेको त्यो पुल बनाउँदा बनाउँदै भत्किएपछि पनि प्राविधिक र ठेकेदारको आलोचना भएको थियो । त्यो पुल पनि पुन: बनाउन थालिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार