दमक झापालाई मेयरकप भलिबलको उपाधि

भोजपुर । भोजपुरमा जारी प्रथम मेयरकप आमन्त्रित अन्तरपालिका पुरुष भलिबलको उपाधि दमक नगरपालिका झापाले जितेको छ। दमकले भोजपुरको षडानन्द नगरपालिकालाई ३-० को सोझो सेटमा हराउँदै उपाधिमाथि कब्जा जमाएको हो।

भोजपुर टुँडिखेलस्थित प्रतिस्पर्धात्मक फाईनल खेलमा दमकले षडानन्दलाई २५-१७, २५-२२ र २५-२३ को सेट हराएको थियो। उपाधिसँगै दमकले एकलाख रुपैयाँ हात पार्‍यो भने दोस्रो हुने षडानन्दले ५० हजार रुपैयाँ प्राप्त गरेको छ।

गत माघ १० बाट सुरु प्रतियोगिताको उत्कृष्ट खेलाडी दमकका समिप श्रेष्ठ घोषित भए। त्यस्तै प्रतियोगिताबाट बेस्ट स्पाईकर दमकका प्रदिप कट्टेल, बेस्ट सेटर दमककै मुस्कान लिम्बु, बेस्ट ब्लकर दमककै पुकार तामाङ, बेस्ट लिब्रो षडानन्दका योगेश राई र बेस्ट सर्भर आमचोकका सन्तोष राई बने।

त्यस्तै सेमिफाइनलिष्ट बनेका भोजपुर नगरपालिका र आमचोक गाउँपालिकाले पनि समान २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

भोजपुर जिल्ला खेलकुद विकास समिति भोजपुरको आयोजना र भोजपुर नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रतियोगितामा भोजपुर नगरपालिका, दमक नगरपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र टेम्केमैयुङ गाउँपालिका गरी कूल ८ टिमको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार