कांग्रेस महासमिति बैठक आज सकिने

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठक आज सकिँदै छ । पाँच वटै प्रतिवेदन पारित गरी आजै बैठक समापन गर्ने कार्यतालिका छ । समापनअघि आज पनि प्रतिवेदनहरुमाथि समूहगत छलफल भइरहेको छ । हिजो साँझसम्म नाम टिपाएका प्रतिनिधिहरुले ११ बजेसम्म प्रतिवेदनहरुमाथि आफ्नो धारणा राख्ने छन् भने दिउँसो १ बजेपछि समूह नेताले सुझाव पेस गर्ने छन् ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक तथा प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती र श्याम घिमिरेले लेखा प्रतिवेदन पेस गरेका थिए । चार वटै समूहका नेताले सुझाव दिएपछि प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । त्यसलगत्तै प्रतिवेदन पारित गरेर समापन समारोह सुरु हुनेछ ।

छलफलमा सहभागी प्रतिनिधिहरुले आगामी चुनावमा गठबन्धन गर्ने वा नगर्ने विषयमा मिश्रित धारणा व्यक्त गरेका छन् । केही प्रतिनिधिले गठबन्धन गर्दा कांग्रेसकै मतदाताले रुख चिन्हमा मतदान गर्न नपाएको बताएका छन् भने कतिपयले कांग्रेस एक्लै चुनावमा जाँदा कम्युनिस्टहरुबीच गठबन्धन हुनसक्ने धारणा राखेका छन् । महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा चुनावमा गठबन्धन गर्न नहुने उल्लेख छ । यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार