काठमाडौं लैजादै गर्दा खोटाङमा एक सुत्केरीको मृत्यु

खोटाङ । खोटाङमा हप्ता दिनको सुत्केरीको मृत्यु भएको छ । गत फागुन ७ गते जिल्ला अस्पताल, खोटाङमा ‘नर्मल’ सुत्केरी भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाकी २३ वर्षकी लक्ष्मी बुढाथोकीको मृत्यु भएको हो ।

डिस्चार्ज भएर घर फर्काइएकी सुत्केरीलाई श्वास फेर्न गार्हो हुने, शरीर सुन्निने, खोकी लाग्ने लगायतका समस्या देखिएपछि आइतबार राती साँढे १० बजे जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरीलाई ‘पल्मोनरी इम्बोलिजम’ भएको आशंकामा थप उपचारका लागि जिल्ला अस्पतालले रेफर गरेपछि काठमाडौं लैजानेक्रममा सिन्धुलीको मुलकोट पुगेपछि सोमबार बिहान मृत्यु भएको हो ।

जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि सुत्केरीलाई आइतबार राती अक्सिजन सहितको एम्बूलेन्समा राखेर काठमाडौं पठाइएको थियो । अक्सिजनको मात्र कम भएको, श्वास फेर्न गार्हो भएको, खोकी लागेको, छातीमा घ्यार–घ्यार भएको, खुट्टा सामान्य सुन्निएको लक्षणका आधारमा सुत्केरीलाई पल्मोनरी इम्बोलिजम (फोक्सोको रक्त नलीमा रगतको ढिक्का जम्ने समस्या) भएको आशंका गरिएको जिल्ला अस्पताल खोटाङका डा. रुपेश संग्रौलाले बताए ।

सुत्केरीको फोक्सोको एनजिओग्राम गरेर प्राथमिक उपचार सुरु गरेपछि जिल्ला अस्पतालले सुत्केरीलाई काठमाडौं लैजान रेफर गरेको थियो । “श्वास फेर्न गार्हो हुने, खोकी लाग्ने समस्या देखिएपछि सुत्केरीलाई राती साँढे १० बजे इमरजेन्सीमा ल्याइएको थियो । त्यो बेला अक्सिजनको मात्रा ३५ मात्र थियो । खुट्टा हल्का सुन्निएको थियो । अक्सिजन दिँदा पनि ७०-७५ भन्दा बढी अक्सिजनको मात्रा थिएन,” डा. संग्रौलाले भने, “पल्मोनरी इम्बोलिजमको आशंकामा फोक्सोको एनजिओग्राम गरेर प्राथमिक उपचार सुरु गरेर अक्सिजन भएको एम्बूलेन्समा काठमाडौं पठाइएको थियो ।

हजारमा एक-दुई जनामा फोक्सोको नलीमा रगतको ढिक्का जम्ने समस्या हुन्छ, त्यसलाई हामी पल्मोनरी इम्बोलिजम भन्छौँ ।” ३ दिन र ७ दिनका दिन सुत्केरी भेटघाट गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यक्रम अनुसार गत शनिबार अनमी उमा राई सुत्केरी भेट्न घरैमा पुगेकी थिईन् ।

हप्ता दिनभित्रको भेटकाक्रममा प्रेसर बढेको र शरीर सुन्निएको समस्या देखिएपछि अनमी राईले तत्काल अस्पताल जान सल्लाह दिएकी थिईन् । तर आइतबारको न्वरानका कारण सुत्केरीलाई राती मात्रै अस्पताल लगिएको नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार