भोजपुर नगरपालिका १२ मालवासेमा आगालागी हुदा ८ घर जलेर नष्ट

भोजपुर । जंगलबाट सुरु भएको आगालागीले भोजपुरको टक्सारमा ८ घर जलेर नष्ट भएको छ । भोजपु्र नगरपालिका १२, टक्सारको मालेबाँसेस्थित जंगलको डढेलो बस्तीमा पस्दा स्थानीयबासिन्दाको घर जलेको हो ।

शनिबार करिब सवा २ बजेतिर जंगलबाट सल्किएको आगो बस्ती पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको ८ घर पूर्ण रुपले जलेर नष्ट भएको थियो ।

घटनास्थलमा भोजपुर नगरपालिकाको बारुण यन्त्र, शसस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगालागी नियन्त्रणमा ल्याउने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए ।

मानवीय क्षति नभएपनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको राईले जानकारी दिए । स्थानीय दुर्गा श्रेष्ठका अनुसार आगालागीले क्षति पु¥याएको मालबाँसे बस्तीबाट आगो झाँक्रीसल्ला टोलतिर सल्किएको छ । हावाहुरी चलेका कारण आगो नियन्त्रणमा ल्याउन समस्या भएको श्रेष्ठले बताए । आगालागीबाट मानवीय र पशुचौपाया क्षति नभएपनि अन्नपात, सुनचाँदी पूर्ण रुपमा जलेर नष्ट भएको पिडित नरबहादुर कार्कीले सुनाए ।

बढ्दो सुख्खा र खडेरीका कारण यस क्षेत्रका वनजंगलमा लाग्ने डढेलोले वर्षेनी नजिकैका गाउँबस्तीमा जोखिम बढ्ने गरेको छ । भोजपुर नगरपालिका १२, टक्सार मालबाँसेस्थित शनिबार लागेको आगालागी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार