इलाम । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस झिनो मतान्तरले अघि लागेको छ । यी दुई वडामा २ हजार ८३९ मत खसेको थियो । जहाँ कांग्रेसले ८२ मतको अग्रता कायम गरेको छ ।
प्राप्त तथ्यांक अनुसार यी २ वडामा कांग्रेसले १ हजार १४५ मत प्राप्त गरेको छ । यहाँ कांग्रेस उमेदवार डम्बर खड्का छन् । यस्तै दोस्रो स्थानमा एमालेका सुहाङ नेम्वाङ छन् । उनले१ हजार ६३ मत पाएका छन् ।
तेस्रो स्थानमा स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम रहेका छन् । मुढा चिह्नका थेगिमले ३११ मत पाएका छन् । चौथोमा रास्वपा उमेदवार मिलन लिम्बू छन् । उनले २०९ मत पाएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि इलाममा बैशाख १५ गते उपनिर्वाचन भएको हो । संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध समभागृहमा मतगणना भइरहेको छ ।
एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।