दक्ष राजदूतलाई पनि फिर्ता बोलाउने निर्णय गलत : काँग्रेस

काठमाडौँ : नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले विभिन्न देशका राजदूत हटाउने गलत निर्णय गरेको टिप्पणी गरेका छन्। मंगलवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका दक्ष राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताएका हुन्।

प्रवक्ता महतले सरकारले देशका लागि नभई आफ्नो मान्छे पठाउन विभिन्न देशको राजदूत फिर्ता बोलाउने निर्णय लिएको आरोप पनि लगाए। सरकारले देशका लागि काम गर्ने नभई आफ्ना मान्छेलाई पठाउन राजदूत फिर्ता बोलाउने निर्णय लिएको उनको भनाइ थियो। प्रवक्ता महतले नेपालको हितमा काम गरिरहेका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको बताए।

नेता महतले भने, ‘कहिलेकाहीँ हामी चाहिनेभन्दा बढी प्रतिक्रिया दिन्छौँ। कहिले बोल्नुपर्ने ठाउँमा पनि बोल्दैनौँ। यो प्रवृत्तिले नेपालको हैसियत विकसित र राष्ट्रिय स्वार्थलाई प्रोटेक्ट गर्न सकेका छैनौँ। जस्तो उहाँहरूले तमाम राजदूतहरूलाई हटाउनु भयो। अमेरिका, बेलायत, भारतका राजदूतहरू अत्यन्तै प्रोफेशनल हुनुहुन्छ। जुनसुकै सरकार भए पनि देशको हितका लागि उहाँहरूले काम गरिरहनुभएको छ। अत्यन्त व्यावसायिक हैसियत राख्ने केही महत्वपूर्ण राजदूतहरू हुनुहुन्छ। उहाँहरूले नेपालको हित कसरी हुन्छ भनेर काम गरिरहनु भएको छ। उहाँहरूले कुन पार्टीको सरकार भनेर काम गरिरहनुभएको छैन । देशका लागि काम गर्ने मान्छे होइन, मेरो मान्छे त्यहाँ पठाउनु पर्‍यो भन्ने मान्यताबाट निर्णय भएको छ। यो गलत छ र यो भ्रमणको सिलसिलामा हुने भनेको त झन् राम्रो होइन ।’

प्रवक्ता महतले प्रधानमन्त्रीको भारत भ्रमणअघि उक्त निर्णय लिनु झनै उपयुक्त नभएको प्रतिक्रिया पनि दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार