कांग्रेस महाधिवेशनः अब सबैको ध्यान महामन्त्रीको मतगणनामा

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना बुधवारबाट शुरू हुँदैछ ।

सभापतिका लागि मंगलवार भएको मतगणनाको नजिता मध्यरातमा सकिएलगत्तै अब पदाधिकारीको मतगणना शुरू हुन लागेको हो ।

पदाधिकारीमध्ये पनि महामन्त्रीको मतगणनालाई सर्वाधिक चासोका साथ हेरिएको छ ।

महामन्त्रीका लागि चर्चित युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल तथा रक्षामन्त्री डा। मीनेन्द्र रिजाल र सह–महामन्त्री डा। प्रकाशशरण महत प्रतिस्पर्धामा छन् । सभापतिको पहिलो राउन्डबाट बाहिरिएका विमलेन्द्र निधिको तर्फबाट डा। राजाराम कार्कीले पनि महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

सभापतिमा संस्थापन पक्षका शेरबहादुर देउवा विजयी भएका छन् । तर संस्थापन इतरका नेता डा। शेखर कोइरालाले पनि राम्रो मत पाए । महामन्त्रीमा संस्थापन इतर समूहका गगन थापा बलियो उम्मेदवार हुन् । देउवाले समेत गगनलाई आफ्नो प्यानलबाट उम्मेदवार बनाउन प्रयास गरेका थिए ।

सभापतिका सबै उम्मेदवारको तानातानमा परेका गगन थापा विजयी हुने महाधिवेशन प्रतिनिधिको आकलन छ । स्वयं गगनले पनि कतिपय प्रतिनिधिले ‘अन्य पदमा जता भोट हाले पनि एउटा भोट तपाईंलाई दिन्छौं’ भनेको लोकान्तरसँग बताएका थिए ।

दुईजना महामन्त्री निर्वाचित हुनेमा विश्वप्रकाश शर्मा, महत र पौडेलबीच पनि तीब्र प्रतिष्पर्धा हुने आकलन गरिएको छ । संस्थापन पक्षभित्रको एउटा गुटले महामन्त्रीमा महतलाई मात्र मतदान गरेको कृष्णप्रसाद सिटौला समूहको आशंका छ ।

राजनीतिक सहकार्य भविष्यमा पनि गर्नुपर्ने भन्दै सिटौला समूहले महामन्त्रीमा दुवै ठाउँमा मत हाल्न निर्देशन दिएको थियो । महतको पक्षमा एकछापे भोट परेकाले महामन्त्रीमा तीव्र प्रतिष्पर्धा हुने सिटौला समूहको आकलन छ ।

महामन्त्रीमा पौडेललाई उम्मेदवार बनाइएकोमा रुष्ट बनेका देउवा समूहका केही नेताले पौडेललाई भोट नहालेको सिटौला समूहको दाबी छ ।

विगतमा संस्थापन समूहकै भनिने र अहिले प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका विश्वप्रकाशले पनि राम्रै भोट पाउने आकलन गरिएको छ ।

उपसभापतिमा पनि संस्थापन पक्षबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का तथा संस्थापन इतर समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङबीचको प्रतिस्पर्धालाई पनि रोचक ढंगले हेरिएको छ ।

८ सहमहामन्त्रीमा पनि तीव्र प्रतिष्पर्धा हुने आकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार