धनकुटामा गठबन्धनका चार दलले वडासम्मै तालमेल गर्ने

धनकुटा । वैशाखमा हुने स्थानीय निर्वाचनका लागि धनकुटामा सत्तारूढ गठबन्धनका दलहरूले तालमेल गरेर जाने सहमति गरेका छन्।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ०७९ वैशाख ३० मा हुने स्थानीय तहमा गठबन्धन गरेर जाने गर्ने निर्णय गरेका हुन्।

सोमबार भएको पत्रकार सम्मेलनमा सार्वजनिक भएको विज्ञप्तिमा कांग्रेसका धनकुटा सभापति दिनेश राई, नेकपा माओवादी केन्द्र धनकुटा संयोजक डिल्लीराम राई, नेकपा एकीकृत समाजवादी धनकुटा अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टी धनकुटा अध्यक्ष बलबहादुर राईले हस्ताक्षर गरेका छन्।

तीन नगरपालिका र चार गाउँपालिकामा रहेको धनकुटामा ६० वडामा एक भएर जाने सत्ता साझेदार दलले समझदारी गरेको पत्रकार सम्मेलन गरी बताएका हुन्।

कांग्रेस जिल्ला सभापति दिनेश राईले स्थानीय तहमा तालमेल गरेर जाने निर्णय भएको बताए। स्थानीय तहका आवश्यकताको आधारमा गठबन्धन गरेर अघि बढ्ने सहमति भएको राईले बताए।

‘वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एकताबद्ध ढंगले जाने निर्णय गरेका छौं,’ उनले भने, ‘अब संयुक्त रूपमा कार्यक्रम गरिनेछ।’

स्थानीय निर्वाचनलाई लक्षित गरेर वडा तहबाट उम्मेदवारको सिफारिस आउन थालेका छन्। राईले भने उम्मेदवारको सिफारिस गर्दा गठबन्धनलाई ध्यान देऊ भनेर वडासम्म भनेका छौँ।

नेकपा एकीकृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राईले स्थानीय चुनावका लागि चार दलीय गठबन्धन गरिएको बताए।

‘संविधान, जनहित, लोकतन्त्र रक्षाका लागि स्थानीय चुनावमा सहकार्य गरेर जाने हो,’ उनले भने, ‘धनकुटाको आवश्यकताका आधारमा गठबन्धन गरेका हौँ र हरेक कुरामा सहकार्य गर्दै जाने प्रतिवद्धता जनाउँदछौं।’

गत २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा धनकुटा ७ वटा स्थानीय तहको प्रमुख उपप्रमुखसहित एमाले ४३ वडामा, कांग्रेसले ९ वटा वडामा, माओवादी केन्द्रले ५ वटा वडा र जनता समाजवादी पार्टीले ३ वटा वडा जितेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार