भोजपुरमा आयोजित २ दिने वृहत स्वास्थ्य शिविरबाट २५ सय लाभान्वित

भोजपुर । भोजपुरमा आयोजित २ दिने वृहत स्वास्थ्य शिविरबाट २५ सय लाभान्वित भएका छन् । भोजपुर सदरमुकामको विद्योदय माध्यमिक विद्यालयमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरबाट उनीहरुले निःशुल्क सेवा पाएका छन् । आर्थिक अभावमा जिल्ला बाहिर उपचार गराउन नसकेका ग्रामिण भेगका विरामीहरु शिविरबाट लाभान्वित बनेका हुन् ।
आफ्नै जिल्लामा शिविर बसेको बेला निःशुल्क उपचार गराउन पाउँदा समय र खर्चको बचत भएको भोजपुर नगरपालिका ५, बोखिमका ७१ वर्षिय रुपकमान प्रधानले खुसी व्यक्त गरे । भोजपुर नगरपालिकाको आयोजना तथा दावाली मिलन क्लब र नेपाल चिकित्सक संघको संयोजनमा स्थानीय विद्योदय माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोईराला, पेट रोग विशेषज्ञ डा.भुपेन्द्र बस्नेत, वरिष्ठ फिजिसीयन डा. लोचन कार्की लगायत एक सय ५ जना चिकित्सकको टिमले स्वास्थ्य परिक्षण गराएका हुन् ।
उक्त शिविरमा मुटुरोग, छाती तथा पेटरोग, पाठेघर सम्बन्धि रोग, क्यान्सर, जेनेरल मेडिसियन, छाला तथा यौन रोग, नाक कान घाटी र शल्यक्रिया समेत वरिष्ठ विशेषज्ञबाट उपचार पाएका छन् । जिल्ला बाहिर फलोअपमा जानुपर्ने विरामीले समेत शिविरमा नै उपचार गराएका छन् । शिविरमा सामान्य ब्लडप्रेसरदेखि अप्रेशन गर्नुपर्ने विरामीहरुको उचार गराईएको छ । भोजपुर र खोटाङका नागरिकले शिविरबाट लाभ पाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार