काठमाडौं । नेपाल आयल निगम ६ वर्षपछि आर्थिक वर्ष २०७७र७८ मा घाटामा गएको छ । गत आर्थिक वर्षमा ४ अर्ब घाटा भएको निगमले जनाएको छ । आर्थिक वर्ष २०७१र७२ पछि निगम निरन्तर नाफामा थियो ।
निगमले आर्थिक वर्ष २०७७र७८ मा निगमले मूल्य अभिवृद्धि करबाहेक २ खर्ब ४५ अर्ब रुपैयाँको कारोबार गरेको छ । एक वर्षमा २९ हजार किलोलिटर पेट्रोलियम पदार्थको खरिद बिक्री भएको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।
यो कारोबारबाट सरकारलाई ९३ अर्ब रुपैयाँ कर बापतको रकम बुझाइएको उनले बताए । ‘पेट्रोलयम पदार्थको अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यअनुसार नेपालमा मूल्य समायोजन नहुँदा निगम लामो समयपछि घाटामा गएको छ,’ निमित्त नायब कार्यकारी निर्देशक साहले भने ।
गत आर्थिक वर्षको मध्यदेखि सुरु भएको घाटाको श्रृङ्खला नयाँ आर्थिक वर्षको तीन महिनासम्म पनि निरन्तर रहेको उनले बताए । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको अनुमानित नोक्सानी ६ अर्ब रुपैयाँ भन्दा बढी पुगेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको उच्च वृद्धि र सोही अनुसार मूल्य समायोजन गर्न नसकिने घरेलु कारणले घाटा बढेको उनले बताए । ‘यो महिना हामीलाई तीन अर्ब रुपैयाँ घाटा लाग्ने प्रक्षेपण गरेका छौं, गत आर्थिक वर्षको अन्तिम केही महिनादेखिको अवधिलाई जोड्दा हामी ६ अर्ब भन्दा बढी घाटामा छौं,’ प्रवक्ता उपाध्यायले भने ।
भारतीय आयल निगमबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ९ र डिजेलमा ७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यस्तै निगमलाई खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५१५ रुपैयाँ घाटा रहेको उपाध्यायले जानकारी दिए ।
नयाँ आर्थिक वर्षको पहिलो महिना १ अर्ब ६० करोड रुपैयाँ घाटामा गएको निगमले भदौमा मात्रै २ अर्ब घाटा ब्यहोरोको निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।
आर्थिक वर्ष २०७१र७२ अघि निरन्तर पाँच वर्षसम्म घाटामा गएको निगम त्यसयताको ६ वर्ष भने नियमित नाफामा थियो । २०७१र७२ मा १५ अर्ब ४ करोड नाफा गरेको निगमले २०७२र७३ मा १९ अर्ब ३६ करोड रुपैयाँ कमाएको थियो ।
यस्तै २०७३र७४ मा ९ अर्ब ४५ करोड, २०७४र७५ मा ३ अर्ब ५८ करोड र आर्थिक वर्ष २०७५र७६ मा ८ अर्ब ६५ करोड रुपैयाँ नाफा निगमले आर्जन गरेको थियो । आर्थिक वर्ष २०७६र७७ मा निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो ।