मिर्गौलापीडित, क्यान्सर लागेका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार

काठमाडौँ । मिर्गौला प्रत्यारोपण गरेका तथा डायलासिस गरिरहेकाहरुका साथै सबै प्रकारका क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ औषधोपचार भत्ता उपलब्ध गराइने भएको छ ।

त्यसका लागि १ अर्ब ५० करोड छुट्याइएको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । यस्तै आधारतभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन पनि बजेटमा व्यवस्था गरिएको छ । ६५५ पालिकामा निर्माणाधीन आधारभूत अस्पताल निर्माण सम्पन्न गरिने भएको छ । यसका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माको भनाइ छ ।
जीर्ण अस्पताल भवन पुनर्निर्माणका लागि पनि रकम विनियोजन गरिएको उनले बताए । यस्तै ज्येष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न थप २० वटा प्रादेशिक र केन्द्रीय अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरिने भएको छ ।

सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने व्यवस्था पनि मिलाइएको अर्थमन्त्री शर्माको भनाइ छ । यसैगरी मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराइने भएको छ ।

त्यस्तै मातृ मृत्युदर घटाउन गर्भवती महिलाहरूलाई पोषण कार्यक्रम स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सुविधा उपलब्ध गराइने छ । ५ वर्षमुनिका बालबालिकाहरूको मृत्युदर घटाउन सुरक्षित मातृत्व शिशु स्याहार पोषण कार्यक्रम र खोप कार्यक्रमलाई थप प्रभावकारी गरिने अर्थमन्त्री शर्माले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार