राजनीतिक स्वार्थ छोडौ, कोरोना महामारी नियन्त्रणमा जुटौं

दोश्रो चरणको कोरोना भाइरस (कोभिड १९) को संक्रमणले यतिबेला जनमानसलाई आतंंकित बनाएको छ भने ज्यान गुमाउनेको संख्यामा समेत दिनप्रतिदिन बृद्धि भैरहेको छ । छिमेकी जिल्ला भारतमा त्यस्तै जोखिम छ भने दोश्रो चरणको कोरोना भेरियन्टबाट नेपाल पनि पीडामा गु्रजिरहेको छ । संक्रमणको बृद्धि दरसँगै मुलुक ठप्पको अवस्थामा छ तर मुलुकमा यस्तो समस्या देखिई रहँदा जनताका लागि काम गर्छु भन्दै राजनीति थालेका नेताहरु आ–आफनो स्वार्थ र कुर्सीका लागि आरोप प्रत्यारोपमा लागेका छन ।

कोरोना जोखिम न्युनीकरणमा हातेमालो गर्दे अगाडी बढनु पर्ने समयमा जुहारीमा उत्रिएका राजनीतिक दलका नेताहरुको कार्य अहिले जनताको हितमा छ ? सवै पक्षले कुनै पनि दलको झोला नबोकी स्वतन्त्र पूर्वक मनन् गरौ त । मेरो नेताले गरेको राम्रो, अर्कोेले गरेको नराम्रो भन्ने छाप परेका कारण अहिले नेताहरुको रवैया बढेको हो ।

यो कठिन परीस्थितीमा सवै पक्ष कोरोना नियन्त्रणमा केन्द्रित हुन जरुरी छ । संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला सवै पक्ष कोरोना संक्रमण नियन्त्रण गर्दे मुलुकलाई पुन पहिला कै अवस्थामा फर्काउने तर्फ लाग्नु जरुरी छ । कोरोनाको संकट चलि रहँदा नेपालको राजनीतिक नेतृत्व भने कसलाई प्रधानमन्त्री बनाउने, कसलाई मिलाउँदा बहुमत आउँछ भन्ने चलखेलमा ब्यस्त छन । नेपालका मुख्य दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका मुख्य दलहरु अहिले मुलुकको जटिल अवस्था भन्दा पनि राजनीतिक मुद्धामा केन्द्रित छन ।

सरकारले जनताको हितमा काम गर्न सकेन । जति सुकै समृद्धिको नारा लगाए पनि सरकारले जनताका लागि केही गर्न सकेन भन्ने प्रष्ट देखिएको छ । संविधानले नै जनताका स्वाथ्य सम्बन्धी मौलिक अधिकारको व्यवस्था गरेको छ । तर के अहिलेको अवस्थामा जनताले ती अधिकारहरु पाएका छन । जनताले राज्यबाट जति आशा गरेका थिए त्यो अहिले पुरा हुन सकिरहेको छैन ।

देखावटीरुपमा केही काम गरेजस्तो गर्ने काम गरिएता पनि त्यो प्रभावकारी छैन । संक्रमितलाई थप उपचार गराउने, आवश्यक सामाग्रीहरुको ब्यस्थापन गर्ने, जनशक्ति परिचालन लगायतमा जुटनु पर्ने अवस्थामा सरकार संसद भंग गर्दे निर्वाचनको मिति तोकेर त्यसको तयारीमा जुटेको छ भने त्यसलाई असफल बनाएर संसद पुनस्थापना गर्दे प्रधानमन्त्री फेर्ने दाउँमा बिपक्षी दलहरु छन । मुलुकमा संकट बढ्दा सवै राजनीतिक दल र शक्तिहरु एक जुट भएर हातमा हात मिलाउँदै अघि बढ्नु पर्ने अवस्थामा पक्ष बिपक्षमा उत्रिएका छन । यसले स्वदेश र बाहिरी देशमा रहेका नेपालीहरुमा के सन्देश जान्छ ?

उच्च तहका ब्यक्तिहरुका लागि लाख भन्दा पनि अर्व खर्च गर्नसक्ने राज्यले गरिब जनताका लागि प्रभावकारी उपचार सेवा दिन नसक्नु दुखको कुरा हो । ठुला बढा मानिएकाहरुलाई अति विशिष्ट कक्ष छुट्याएर राखिएका छन् सरकारी अस्पतालहरूमा । तर, त्यहाँ उपचारका लागि कोही जाँदैनन् । साधारण रुघाखोकी लाग्यो भने सरकारी खर्चमा विदेश उपचार गर्न जान्छन् । नेपालमा जति सरकार परिवर्तन भए पनि यस्ता कुराहरुमा कहिल्यै सुधार आउँन सकेन ।

जनतालाई कोरोनाको डर देखाउँदै घर भित्र थुन्ने अनि आफुहरु समस्या समधान भन्दा पनि राजनीतिक स्वार्थमा दगुरे पछि सरकार र राजनीतिक दलसँग जनताको आशा के रहन्छ । कोरोना संक्रमित र मुत्यु दर दैनिक बढेको बढै छ । अस्पतालमा श्रोत साधन नहुदाँ बिरामीको राम्रो उपचार हँुदैन सोही कारण उनीहरुको ज्यान जोखिममा छ भने ज्यान गुमाई रहेका छन ।

संक्रमित बढने क्रम रोकिएको छैन, सरकारले प्रभावकारीरुपमा परीक्षणको दायरा बढाउन सकेको छैन । नेपालीको समस्या नबुझे पनि बिदेशीले केही पो भनि हाल्छन कि भनेर केही मात्रामा परिक्षण गराएको देखाउँने र दैनिक त्यही संख्या पढेर सुनाउँने काम भैरहेको छ । परिक्षण दायरा बढाएर कोरोना टेष्ट गर्ने हो भने पाइलै पिच्छे कोरोना बिरामी भेटिने सम्भावना छ । सरकारलदे यस तर्फ उचित ध्यान दिन सकेन तर प्रमुख प्रतिपक्ष बनेका दल र नेताहरुको चाला पनि उस्तै छ ।

सवै मुलुकहरुमा कोरोना संक्रमण शुरु भएको छ भने सोही कारणले नेपालमा संक्रमित हुनेको संख्या ५ लाख नाघी सकेको छ भने ज्यान गुमाउनेको संख्या साढे ७ हजार पुगि सक्यो भने दैनिक बृद्धि हुने क्रममा छ । साढे ४ लाख बढी निको भएका छन । कोरोना संक्रमण रोक्ने उपाय वा औषधी अहिलेसम्म कत्तै पत्ता लाग्न सकि रहेको छैन । कोरोना भाइरसको संक्रमणबाट बिश्व मात्र होइन नेपाल पनि पूर्णरुपमा प्रभावित बनेको छ । संक्रमण फैलन नदिन सरकारले लकडाउन शुरु गरेको छ, नेपाली जनतालाई कोरोना संक्रमणबाट जोगाउन सरकारले १ महिना भन्दा लामो समयका लागि निषेधाज्ञा गरेको छ । केही कोरोना टेष्ट गर्देमा र निषेधाज्ञाको अवधी थप गरेर मात्र देखिएको समस्या समाधान हुन सक्ला त । यस तर्फ पनि सरकारी पक्षको ध्यान केन्द्रित हुन जरुरी छ ।

निषेधाज्ञाका कारण जनता समस्यामा छन । मानिसको पहिलो प्राथमिकता गाँस, बास र कपास हो । यो समय भनेको जनताका लागि काम गर्छू भनेर राजनीतिमा लागेका राजनीतिक दल र नेताहरु सवै एक ठाउँमा भेला भएर दिर्घकालिन योजना ल्याउने समय हो । अहिले भएका पार्टीहरु फुटने होइन राष्ट्रिय समस्या समाधानका लागि जुटने समय हो । अहिले राजनीतिक दलहरु जसरी एक जुट भएर जनता जोगाउन र समस्या समाधानमा लाग्छm त्यही हो भोलीका दिनमा निर्वाचनमा मत पाउने मुल्यांकन ।

कोरोना नियन्त्रण भएर मुलुक पुन पहिला कै अवस्थामा फर्किए पछि राजनीतिक निर्णयहरु जे जे गरे पनि जनताले खासै ध्यान दिदैनन । किन कि जनता आफनै जिवन यापनमा ब्यस्त हुन्छन । त्यसैले यो समयमा अव राजीतिक मुद्याहरुलाई एक तिर कुनामा राखेर सवै ध्यान कोरोना नियन्त्रण, मजदुरका पीडा र सर्वसाधारणका गुनासा समाधानमा केन्द्रित गर्न आवश्यक छ । अहिलेको समयमा हामी जनताका समस्या भन्दा बाहिर गएर अन्य बिभिन्न राजनीतिक निर्णय गर्ने तर्फ लाग्यौ भने, भोली चुनाव हुन्छ त्यति बेला जनतालाई के भनेर मत माग्ने, यो सवै नेपालमा क्रियाशिल राजनीतिक दल र नेतृत्वहरुले बुझने समय हो ।

कोरोना संक्रमणको संकट निराकरण हुने भन्दा झन बढनेक्रममा छ । यो समस्या कहिलेसम्म रहन्छ कुनै पक्षले भन्न सक्दैनन । उद्योग, ब्यवसाय, कलकारखाना मात्र होइन सरकारी निकायहरुको काम कारवाही समेत प्रभावित छ । यी क्षेत्रमा श्रम गर्ने मनिसहरु प्रभावित बनेका छन । सरकार जनताको सेवक हो त्यसैले यस्ता समस्याको समाधानमा उसले योजना बनाउनु पर्छ । त्यसैले अव सरकार पनि पार्टीलाई फुटाउँने र जुटाउने तर्फ होइन मुलुकको समस्या समाधानका लागि जुटाउने तर्फ लाग ।

अन्त्यमा हामी सवै पक्ष कोरोना संक्रमण बढाउने होइन, नियन्त्रण गर्ने तर्फ लागौ, तपाई हाम्रो स्वास्थ्य हाम्रै हातमा छ, एक जुट बनौ । (लेखक बिगत दुई दशक देखि भोजपुर जिल्लामा रहेर पत्रकारिता पेशामा संलग्न हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार