नेपाल सुपर लिग : विराटनगर एफसी शीर्षस्थानमा

काठमाडौँ / नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो ।

दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो । यद्यपि मध्यान्तरअघिको खेलमा उसले गोल गर्न भने सकेन । खेलको २३औँ मिनेटमा विराटनगरका सुनिल बलको प्रहार गोलपोष्टमाथिबाट बाहिरियो । खेलको ३६औँ मिनेटमा विदेशी खेलाडी एडेलाजाले पाएको मौकाको सदुपयोग गर्नु सकेनन् ।

यसैगरी पहिलो हाफको अन्तिम समयमा विराटनगरका नीरकुमार राईको प्रयास पनि खेर गयो । मध्यान्तरपछिको खेलको ५८औँ मिनेटमा विराटनगरका सन्तोष तामाङले गरेको प्रहार चितवनका गोलकिपर विशाल सुनारले रोके । विराटनगरका लागि खेलको ७३औँ मिनेटमा विदेशी खेलाडी पेद्रो मान्जीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । खेलको ८९औँ मिनेटमा विराटनगरका लागि सन्तोष तामाङले दोस्रो गोल गरे ।

जितसँगै विराटनगर चार खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा प्रवेश गरेको छ । चितवनको चार खेलमा दुई अङ्क छ । चितवन लिगको पुछारमा छ ।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार