भोजपुरलाई व्याडमिन्टनमा अन्तराष्ट्रिय स्तरमा चिनाउने दान बहादुर दम्पतीलाई स्पेशल अवार्ड

भोजपुर ।  ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेबी तामाङ र नङशल देवी तामाङका बुबा आमा दान बहादुर तामाङ र मायादेवी मोक्तानले नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एन्एसजेएफ अवार्ड २०७८ को स्पेसल अवार्ड प्राप्त गरेका छन् ।

नेपालमा अझै पनि थोरै अभिभावकहरु मात्र त्यस्ता छन्, जो आफ्ना छोराछोरीलाई आफैले दोहोर्याएर खेल मैदानसम्म पुर्याउँछन् । भोजपुर बजारका दानबहादुरले त आफैले खेल मैदान आफैले बनाए, आफैले प्रशिक्षण दिए र छोराछोरीलाई नेपालका चर्चित च्याम्पियन बनाए । त्यतिमात्र होइन भोजपुरलाई नै ब्याडमिन्टन खेलाडी उत्पादन हुने ठाँउको रुपमा नै परिचित गराए ।

सुरु सुरुमा जब उनी आफ्ना कलिला नानीहरुलाई खेलाउँन लैजान्थे, गाँउलेहरु यो दानबहादुरले छोराछोरी बिगार्ने भए भनि जिस्काउँथे ।

दानबहादुर ब्याडमिन्टनमा बेस्सरी डुब्नुमा विशेष घटना छ । एउटा इखालु घटना । विराटनगरमा खेल्न जाँदा इन्डोर हल नभएको ठाँउका खेलाडि कसरी खेल्छन् भनेर उनलाई एकजना वरिष्ठ प्रशिक्षकले नमज्जाले जिस्काएछन ।

इख बोकेर भोजपुर फर्किएका दानबहादुरले त्यसपछि भयंकर मेहनत गरे । इन्डोर हल नभएपनि छोराछोरीलाई राम्रो खेलाडी बनाउने प्रण लिए । दिनरात नभनी लागे । आफू प्रशिक्षक थिएनन् तर त्यो कला सिके । परिणाम, अर्को खेलमा विराटनगर पुग्दा सरादेबीले अन्तर्राष्ट्रिय खेलाडी भनिएका प्रतिद्वन्दीला शुन्यमा पराजित गरिदिइन् ।

त्यहाँबाट शुरु भएको जितको सिलसिला सरादेबी, रत्नजित हुंदै नङशलदेवी तामाङ सम्म जारी रह्यो। एकताका राष्ट्रिय टिममा पर्ने खेलाडिहरुको संख्या ६ जनासम्म पुगेका थिए । यो सजिलो काम थिएन। तीन दशक लामो यो अभियानमा शिक्षक पेशाका दानबहादुरले आफ्नो सबै तलब स्वाहा पारे । ब्याडमिन्टनमा खर्च पनि टन्न हुने। १२ वर्ष त भोजपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्ष नै बनेर सेवा गरे ।

यद्यपी सपना पाल्नु र त्यो पुरा हुनु फरक विषय हो । जो कोहिले आफ्ना सन्तान च्याम्पियन हुन् भन्ने नै सपना देख्छन् । तर सबैको सपना कहाँ पुरा हुन्छ । दानबहादुर दम्पती यस मानेमा भाग्यमानी पनि हुन् की छोराछोरीले त्यही अनुरुप मेहनत गरे ।

भोजपुरमा इन्डोर ब्याडमिन्टन कोर्ट बनाउनु दानबहादुरको अर्को उत्कट चाहना थियो । इन्डोर हल बनाउन उनले आफ्नो जग्गा दान गर्ने घोषणा नै गरेका थिए । दुई वर्ष अगाडि ३ वटा कोर्ट भएको ब्याडमिन्टन कोर्ट बनेपछि उनको अर्को सपना पनि पूरा भयो ।

दानबहादुर दम्पती अब खुशी छन् । शिक्षण पेशाबाट रिटायर्ड भइसकेका उनी अहिले पनि भेट्रान्स ब्याडमिन्टन खेल्न देशभरी डुलि हिँड्छन् ।

हिजो छोराछोरी विगारेू भन्ने गाँउलेहरु अहिले उनको सफलता देखेर छक्क पर्छन् । छोराछोरीलाई राम्रो खेलाडी बनाउने सपना देख्नेहरु अरु पनि छन् । तर दानबहादुर-दम्पतीको योगदान भने अरु भन्दा अलग छ, स्पेशल छ । यीनै दानबहादुर मायादेबी मोक्तान हुन् नेपाल खेलकुद पत्रकार मञ्चको स्पेशल अवार्ड २०७८ का विजेता ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार